काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा कार्यरत दुई सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीविरुद्ध आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरी परेपछि अख्तियारको बर्दिवासस्थित टोलीले उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।

आयोगका अनुसार अनुसन्धानका क्रममा १३ वटा डिप बोरिङ तथा मोटर जडानसम्बन्धी कामका लागि कागजी रूपमा मात्र उपभोक्ता समिति गठन गरिएको तथ्य खुलेको छ। सम्बन्धित प्रक्रियाका कागजातसमेत आफैँ तयार गरी उपभोक्ता समितिको छाप र अध्यक्षको हस्ताक्षर गराएर भुक्तानी प्रक्रिया अघि बढाइएको अख्तियारको दाबी छ।

यही प्रक्रियाबाट भुक्तानी दिलाएबापत दुवै कर्मचारीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै प्रतिवादीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरिएको छ।

आयोगले भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोपमा आवश्यक कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय