
काठमाडौँ । रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीबाट मालवाहक सवारीसाधनसँगै यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण टिमुरे भन्सार यार्डमा पार्किङ गरिएका केही मालवाहक सवारीसाधन बगेका छन्। त्यस्तै, बेत्रावती क्षेत्रमा पार्किङ गरिएका ट्रक तथा अन्य मालवाहक सवारीमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीपछि महासंघअन्तर्गतका सदस्य संस्थामा आबद्ध केही सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू सम्पर्कविहीन रहेको जानकारी आएको महासंघले जनाएको छ। सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे सम्बन्धित संस्था तथा सुरक्षा निकायसँग समन्वय गरी जानकारी लिन आग्रह गरिएको छ।
बाढीको जोखिम अझै कायमै रहेकाले नदी तथा नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न महासंघले व्यवसायी, चालक तथा मजदुरहरूलाई आग्रह गरेको छ। साथै, सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
महासंघले विपद्को अवस्थामा उद्धार तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्न सबै यातायात व्यवसायी तथा सरोकारवालालाई अपिल गरेको छ।




