
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पछिल्लो बाढीबाट देशका विभिन्न क्षेत्रमा पूर्वाधारतर्फ करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन्।
बुधबार बिहान आएको बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै मन्त्री लम्सालले पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको बताए। उनका अनुसार बाढीका कारण सडक, पुललगायतका महत्वपूर्ण संरचनामा व्यापक क्षति भएको छ।

मन्त्री लम्सालले क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। यातायात आवागमन सहज बनाउन आवश्यक स्थानमा अस्थायी व्यवस्था मिलाउँदै स्थायी पुनर्निर्माणलाई तीव्रता दिने सरकारको तयारी रहेको उनको भनाइ छ।
तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीले विभिन्न बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा असर पारेको छ।
बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ भने क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ।
सरकारले तत्काल प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गरी क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा ल्याउने र आवश्यकताअनुसार पुनर्निर्माण अघि बढाउने तयारी गरेको छ।




