काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने समन्वयको जिम्मेवारी सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएको छ।

आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षति भएका संरचनालाई तत्काल सञ्चालनमा ल्याउन तथा पुनर्निर्माण अघि बढाउन आवश्यक आर्थिक स्रोत परिचालनका लागि अर्थमन्त्री वाग्लेलाई समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार बाढीबाट प्रभावित सार्वजनिक संरचना, सडक तथा अन्य भौतिक पूर्वाधारको पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन्। बाढी भोटेकोशीमा मिसिएपछि आसपासका बस्ती तथा बजार क्षेत्रमा समेत क्षति पुगेको बताइएको छ।

बाढीका कारण प्रहरी कार्यालय, सडक, जलविद्युत् आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनाको क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन भइरहेको छ।

यसैबीच, सरकारले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै परराष्ट्रमन्त्री खनालले मृतकका परिवारलाई राहत उपलब्ध गराइने बताए।

बाढीका कारण घर तथा आवास गुमाएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने र बस्ने व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा खानेपानी, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्न आवश्यक समन्वय गर्ने निर्णयसमेत सरकारले गरेको छ। प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा आधारभूत आवश्यकता पूरा गर्न सरकार केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय