काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी तथा पहिरोबाट उत्पन्न विपद्को सामना गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले अहिले राजनीतिक प्रतिस्पर्धा गर्ने समय नभई मानवीय सेवामा केन्द्रित हुनुपर्ने धारणा राखे। उनले विपद् व्यवस्थापनका लागि राजनीतिक दलसँग भएका विज्ञ, अनुभवी उद्धारकर्मी तथा दक्ष जनशक्तिलाई एउटै संयन्त्रमा ल्याएर परिचालन गर्न सरकारसँग आग्रह गरे।

उनले विपद्को समयमा दलको झन्डाभन्दा राष्ट्रिय झन्डामुनि एकजुट भएर प्रभावित नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताए।

लामिछानेले सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहभागितामा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्ने प्रस्तावसमेत गरे।

उनका अनुसार रास्वपा विपद् व्यवस्थापनमा सरकारलाई सहयोग गर्न तथा आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ। ‘यो संकटको घडीमा हामी सबै एउटै टिम हौँ,’ भन्दै उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उपलब्ध सबै संयन्त्र र जनशक्तिको सामूहिक परिचालन आवश्यक रहेको बताए।

लामिछानेले प्रभावित क्षेत्रमा तत्काल उद्धार पुर्‍याउनुका साथै पीडित नागरिकसम्म राहत सामग्री व्यवस्थित रूपमा पुर्‍याउन सरकार, राजनीतिक दल र सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय