
सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरे ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ सम्मानित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गर्दै घिमिरेलाई नगद १ हजार ३ सय रुपैयाँसहित सम्मान गरेको हो ।
घिमिरेले अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलजोरलाई स्थानीयवासी, व्यवसायी र ईश्वरपुर नगरपालिकाको सहयोगमा प्रशासनिक भवनमा रुपान्तरण गरी सञ्चालनमा ल्याएका थिए । साथै, कार्यालय सञ्चालनमा आवश्यक सामग्री उपलब्ध गराउन र टिभिआरएस प्रणाली सक्रिय गर्न पनि उनले अग्रसरता देखाएका थिए ।

त्यसैगरी, उनले लालबन्दी नगरपालिकाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन गराई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर परिसरमा दुर्गा भगवती मन्दिर निर्माण तथा उद्घाटनमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
उनको योगदानलाई उच्च मूल्याङ्कन गर्दै कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्डसहित नगद पुरस्कार प्रदान गरेका हुन् ।