
काठमाडौँ, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा’ को नाममा ठगी र मानव तस्करीको शिकार भएका २ हजारभन्दा बढी नेपाली नागरिक पीडितको रूपमा आफूहरूसँग सम्पर्कमा आएको जनाएको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार, पार्टीले “भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही छ?” भनी जेठ १४ गतेदेखि आह्वान गर्दै एक अभियान सुरु गरेको थियो। उक्त अभियानमार्फत भर्चुअल र प्रत्यक्ष रूपमा २ हजारभन्दा बढी पीडित नेपालीहरूले प्रमाणसहित सम्पर्क गरेको झाले बताए।

“भिजिट भिसाको दुरुपयोगमार्फत भइरहेको मानव तस्करी आजको विकराल सङ्गठित अपराध हो। यसलाई पार्टीले संसद्, सङ्गठन र समाजमार्फत उठाउँदै आएको छ,” उनले भने, “सम्पर्कमा आएका पीडितहरूलाई हामीले सम्बन्धित सरकारी तथा संवैधानिक निकायहरूमा जान सुझाव दिएका छौँ।”
यसैबीच रास्वपाले गृहमन्त्रीले प्रतिनिधिसभामा नक्कली उजुरी दिएको भनेर वास्तविक पीडितको आवाज दबाउने र विषयलाई अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोपसमेत लगाएको छ।



