
काठमाडौँ – बेलायत पठाइदिने भन्दै ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली (हाल काठमाडौं महानगरपालिका–६, सरस्वतीनगर बसोबास) र धनुषा सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुण राज शर्मा (हाल काठमाडौं महानगर–३२, नरेफाँट बसोबास) रहेका छन्।

उनीहरूले हालसम्म ३८ जना पीडितहरूलाई युकेको विभिन्न सहरमा पठाइदिने भन्दै कुल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
पीडितहरूबाट प्राप्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अनुसन्धान गर्दै दुवै जनालाई आइतबार पक्राउ गरेको हो। थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जानकारी दिएको छ।



