
काठमाडौं, जेठ १२ – जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा “न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया कार्यक्रम” काठमाडौं परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (प्र.व.उ.) विश्व अधिकारीको अध्यक्षता र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा उपप्रमुख डंगोलले पदमा रहेर कार्य गर्ने सबैले कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिँदै प्रहरी, सरकारी तथा गैरसरकारी निकायहरूबीच सहकार्य र समन्वय हुनु आवश्यक रहेको बताइन्। उनले समुदाय स्तरमा कानुनी सचेतनाका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेमा पनि जोड दिइन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायधिवक्ताको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तथा वक्ताहरूले अनुसन्धान, अपराध नियन्त्रण, शान्ति सुरक्षामा प्रहरीको योगदानको उच्च मूल्यांकन गरे।
कार्यक्रम समापनमा अध्यक्ष प्र.व.उ. अधिकारीले प्रहरी अनुसन्धान प्रक्रिया प्रमाणमुखी र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै, “प्रहरीको काम दोषीलाई कारवाही गर्ने मात्र नभई निर्दोषलाई संरक्षण गर्ने पनि हो,” भनेका थिए। उनले अनुसन्धानलाई विश्वसनीय बनाउन राज्यले प्रहरीलाई आवश्यक साधनस्रोत र प्रविधिमा सशक्त बनाउनु पर्ने धारणा राखे।
मालपोत कार्यालय, भूमिसुधार कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय लगायतका प्रतिनिधिहरू, मातहत प्रहरी इकाइका प्रमुखहरू तथा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको सहभागिता रहेको उक्त कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको थियो।




