
सुरक्षा सरोकार ,काठमाण्डौं — इलाका प्रहरी कार्यालय बेलचौतारा तनहॅुका कार्यालय प्रमुख प्रहपी निरिक्षक पोषण थापा ‘बेस्टपुलिस अफ द मन्थ’ले सम्मानित भएका छन्।
चैत महिनामा गण्डकी प्रदेश भरमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले थापालाई यो पुरस्कारले सम्मान गरेको हो।

हरेक महिना प्रदेश प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ।
सांगठनिक नीति तथा निर्देशनको पूर्ण पालना गर्दै, आफुलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझसाथ निर्वाह गर्दै आएका एक प्रहरी कर्मचारीलाई २०८१ साल चैत्र महिनाको “उत्कृष्ट प्रहरी प्रहरी निरिक्षक पोषण थापालाई (Best Police of the Month)” घोषणा गरिएको छ।
थापाले वर्ष ५५ को मंगल गिरी हत्या घटनामा फरार रहेका तीन जना अभियुक्तलाई सफलतापूर्वक पक्राउ गरेका थिए। साथै, आफ्नो कार्यक्षेत्रको कार्यालय परिसरमा रहेको दुर्गा भगवती मन्दिरको पुनर्निर्माण, प्रतिक्षालय निर्माण तथा समग्र सौन्दर्यकरणको काम गरेर कार्यालयलाई व्यवस्थित बनाएका छन्।
त्यस्तै, उनले जिम्मेवारी क्षेत्रभित्र शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्दै प्रहरी संगठनप्रति नागरिकको विश्वास बलियो बनाउने खालको उदाहरणीय कार्यसम्पादन गरेका छन्।
“उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१” अनुसार गरिएको मूल्याङ्कनका आधारमा उनलाई चैत्र महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
प्रहरी संगठनको छवि उजागर गर्ने यस्तो कार्यप्रति प्रहरी मुख्यालयले उच्च सम्मान व्यक्त गरेको छ।




