
सु.प. — राष्ट्रिय कलेज सुखडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका सुन्दर गौतम निर्वाचित भएका छन्। आइतबार सम्पन्न स्ववियु निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।
गौतमले १९१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसंघका कर्णवीर कठायतले ९१ मत प्राप्त गरी पराजित भए।

सचिवमा अखिल क्रान्तिकारीकी सम्झाना चौधरी १२९ मत ल्याएर निर्वाचित भएकी छन् भने कोषाध्यक्षमा नेविसंघकी बाटनिशा चौधरी १४० मत प्राप्त गरी विजयी भइन्।
सदस्य पदमा निर्वाचित हुनेहरूमा अखिल क्रान्तिकारीका दिपेश थारू (१६१ मत), माल्ती चौधरी (१६६ मत), नेविसंघकी गिता चौधरी (१७२ मत), विस्नाकुमारी विष्ट (१४० मत) र संगिता चौधरी (१७१ मत) रहेका छन्।
राष्ट्रिय कलेज सुखडमा कुल ४०२ मत खसेको थियो, जसमा ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।



