
काठमाडौं — प्रहरी प्रधान कार्यालय, नक्सालले ३७ प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेसँगै नेपाल प्रहरीमा डीएसपीका ७५ पद रिक्त भएका छन्।
डीएसपी पद रिक्त भएपछि प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट बढुवाको तयारी थालेको छ। हाल प्रतिस्पर्धामा २०७० मा इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरू छन्।

यसअघि, २२ जेठ २०८० मा २०७० ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए, जसमा रन्जन अवा, कमल बेल्वासे, र यमकुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो, र तेस्रो स्थानमा थिए। त्यसपछि २२ चैत २०८० मा थप १९ जना बढुवा सिफारिस भए।
हाल, सोही ब्याचका ७९ जना इन्सपेक्टर प्रतिस्पर्धामा छन्, तर डीएसपीका लागि ७५ पद मात्र खाली भएकाले ४ जना छुट्ने निश्चित छ। बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा समिति रहनेछ, जसले केही दिनमै सिफारिस गर्ने तयारी गरिरहेको छ।



