काठमाडौं ।लेखक तथा विश्लेषक राधाकृष्ण देउजाले नेपाल प्रहरीको नेतृत्व, सुरक्षा निकायको व्यावसायिक भूमिका र पत्रकारिताको जिम्मेवारीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

देउजाले असल काम गर्ने प्रहरी र त्यस्ता कामको तथ्यपरक रूपमा चर्चा गर्ने पत्रकार दुवैलाई सम्मान गर्नुपर्ने बताएका छन्। उनले पछिल्लो समय सूचनामा नागरिकको पहुँच सहज हुनुपर्ने अवस्थामा सञ्चारमाध्यमका कतिपय सामग्री शुल्क तिरेर मात्र पढ्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै कान्तिपुरमा प्रकाशित ‘अडान र आदेशको बीचमा आईजीपी दानबहादुर कार्की’ शीर्षकको सामग्री आफूले सहजै पढ्न नपाए पनि अन्ततः पढेको बताएका छन्।

उनका अनुसार उक्त सामग्रीले फरक र अन्योलपूर्ण परिस्थितिमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो व्यावसायिक अडान कसरी प्रस्तुत गरिरहेका छन् भन्ने विषयमा खोजी गरेको देखिन्छ।

देउजाको बुझाइमा कुनै पनि सुरक्षा निकायका प्रमुखको मूल जिम्मेवारी सरकारलाई परिस्थितिको वास्तविकताबारे स्पष्ट जानकारी गराउनु र आफ्नो काम स्थापित नियम, कानुन तथा व्यावसायिक मापदण्डको सीमाभित्र रहेर गर्नु हो। सुरक्षा नेतृत्वले उपलब्ध तथ्य र अवस्थाबारे राजनीतिक नेतृत्वलाई जानकारी गराइसकेपछि सरकारले कानुनको सीमाभित्र रहेर गरेको निर्णय कार्यान्वयन गर्नु संस्थागत जिम्मेवारीको अर्को पक्ष भएको उनको तर्क छ।

उनले विगतका विभिन्न सुरक्षा घटनालाई स्मरण गर्दै राजनीतिक नेतृत्वले सुरक्षा निकाय तथा गुप्तचर संयन्त्रबाट प्राप्त सूचना र सुझावलाई तथ्यका आधारमा ग्रहण गर्नु महत्वपूर्ण हुने बताएका छन्। सुरक्षा संयन्त्रले प्राप्त गरेको सूचना, जोखिमको आकलन र त्यसका आधारमा दिइएको सुझावलाई समयमै गम्भीरतापूर्वक लिइएको भए कतिपय अप्रिय घटना टार्न सकिने सम्भावना रहने उनको धारणा छ।

नेपालको सन्दर्भमा पनि सुरक्षा निकाय तथा गुप्तचर संयन्त्रलाई राजनीतिक नेतृत्वको मनोभावनाभन्दा तथ्य र वास्तविकताका आधारमा रिपोर्ट गर्न सक्ने वातावरण आवश्यक रहेको देउजाले बताएका छन्। उनका अनुसार कहिलेकाहीँ असहज भए पनि सत्य र तथ्यमा आधारित प्रतिवेदन दिने र त्यसलाई गम्भीरतापूर्वक सुन्ने संस्थागत संस्कार विकास गर्न सके भविष्यमा हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ।

देउजाले कुनै पनि राजकीय निकायमा कार्यरत व्यक्तिको मूल्यांकन गर्दा उसले अन्ततः के परिणाम हासिल गर्‍यो भन्ने मात्रै नभई, त्यस क्रममा के गर्न खोज्यो, के प्रयास गर्‍यो र आफ्नो जिम्मेवारी पूरा गर्न कस्ता अडान लियो भन्ने तथ्यको समेत न्यायोचित मूल्यांकन हुनुपर्नेमा जोड दिएका छन्।

यही सन्दर्भमा उनले कान्तिपुरमा प्रकाशित सामग्रीले नेपाल प्रहरी संगठन र यसको नेतृत्वले आफ्नो क्षमताले भ्याएसम्म संगठनको व्यावसायिक गरिमा कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न गरेका प्रयास र पहललाई विश्लेषण गरेको बताएका छन्।

उनले उक्त सामग्री तयार पार्न गरेको अध्ययन, अनुसन्धान र विश्लेषणका लागि पत्रकार गौरव पोखरेललाई धन्यवाद दिएका छन्। साथै, यस्तो सामग्री प्रकाशन गरेकोमा कान्तिपुर मिडिया ग्रुपप्रति आभार व्यक्त गरेका छन्।

देउजाले अन्त्यमा भनेका छन्—परिस्थिति जस्तोसुकै भए पनि ‘सत्य, सेवा, सुरक्षणम्’ भन्ने नेपाल प्रहरीको मूल मर्मअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध प्रहरी संगठनका सिपाहीदेखि महानिरीक्षकसम्म सबैलाई सम्मान गर्नुपर्छ।

असल काम गर्ने प्रहरीको कामको चर्चा गर्ने पत्रकार र जिम्मेवारीका बीचमा व्यावसायिक अडान कायम राख्ने सुरक्षा नेतृत्व—दुवै लोकतान्त्रिक समाजका लागि महत्वपूर्ण पक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय