काठमाडौं । हुण्डीमार्फत १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ ८१ पैसा बराबरको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय श्यामप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी ठूलो रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ।

हुण्डी कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले शंकास्पद व्यक्तिहरूको बैंक खाताको कारोबार विश्लेषण गरेको थियो। त्यसक्रममा खाताहरूमा अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार भएको देखिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको जनाएको छ।

सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले दुवै जनालाई असोज १ गते पक्राउ गरेको हो।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कसुर, सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारोबारमा अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने देखिएको छ। त्यसैले रकमको स्रोत, प्रयोग भएका बैंक खाताहरू तथा सम्भावित कारोबारी सञ्जालबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय