काठमाडौं, १८ भदौ । बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुन सक्ने दुर्व्यवहार, हिंसा तथा अन्य अप्रिय घटना रोक्न नेपाल प्रहरीले सुरक्षा व्यवस्थालाई थप संवेदनशील बनाएको छ।

होल्डिङ सेन्टरलगायत प्रभावित क्षेत्रका विभिन्न स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीले थप महिला प्रहरी टोली परिचालन गरेको जनाएको छ। जसअनुसार रसुवामा १० जना, नुवाकोटमा २९ जना र धादिङमा ७ जना महिला प्रहरी कर्मचारीको थप टोली केन्द्रबाट खटाइएको छ।

पछिल्लो तथ्यांकअनुसार रसुवाको होल्डिङ सेन्टरमा ६० जना महिला, ३७ जना बालक र ३९ जना बालिका गरी १३६ जना रहेका छन्। धादिङमा १२६ महिला, २४ बालक र ३२ बालिका गरी १८२ जना रहेका छन्।

त्यस्तै, नुवाकोटको होल्डिङ सेन्टरमा ९२९ महिला, १९५ बालक र १६८ बालिका गरी १ हजार २९२ जना रहेका छन्। काठमाडौंको होल्डिङ सेन्टरमा भने १०९ महिला, ५३ बालक र ४९ बालिका गरी २११ जना रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने अपराध नियन्त्रणमा प्रहरी संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

उनका अनुसार होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाविरुद्ध कुनै पनि अप्रिय घटना हुन नदिन थप प्रहरी टोली परिचालन गरिएको छ। टोलीले महिला तथा बालबालिकासँग सम्बन्धित समस्या र गुनासो सम्बोधन गर्नुका साथै आवश्यक मनोपरामर्शसमेत प्रदान गर्नेछ।

यसैबीच, बाढी प्रभावित जिल्लाका विभिन्न होल्डिङ सेन्टरमा नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको टोलीसमेत परिचालन गरिएको छ। उक्त टोलीले स्वास्थ्य परीक्षणका साथै प्रभावित महिला, बालबालिका तथा अन्य व्यक्तिलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय