
काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित ८८ जनाको हवाई माध्यमबाट उद्धार गरिएको छ।
जंगी अड्डाका अनुसार बुधबार दिउँसो ३ः५५ बजेसम्म बाढी प्रभावित विभिन्न क्षेत्रबाट ८८ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्य निरन्तर जारी रहेकाले उद्धार गरिएका व्यक्तिको संख्या थप बढ्न सक्ने सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको छ। नेपाली सेनासहित सुरक्षा निकायका टोलीले जोखिममा परेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।
यसैगरी, नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत उद्धार कार्यमा परिचालन भएका छन्। दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा फसेका नागरिकलाई हवाई माध्यमबाट सुरक्षित स्थानमा ल्याउने काम भइरहेको जनाइएको छ।
उद्धार कार्यसँगै प्रभावित क्षेत्रमा आवश्यक राहत तथा स्वास्थ्य सेवाको व्यवस्थापनका लागि समेत सम्बन्धित निकायले समन्वय गरिरहेको छ।




