
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो संवैधानिक तथा कानुनी अधिकारको सीमाभित्र रहेर स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधनसम्बन्धी विधेयकमाथि भएको छलफलमा मन्त्री गौतमले आयोगको संवैधानिक मर्यादा र कानुनी अधिकार क्षेत्रको पूर्ण सम्मान गर्ने स्पष्ट पारिन्।
उनले अख्तियारको अनुसन्धान तथा अभियोजन प्रक्रियामा सरकारका तर्फबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताइन्।
बैठकमा संवैधानिक निकायका पदाधिकारीलाई प्रधानमन्त्रीको सचिवालयबाट बोलाएर सोधपुछ गरिएको विषयसमेत उठेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाइएमा त्यहाँ उपस्थित नहुन सुझाव दिएका थिए।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अख्तियारमाथि कुनै हस्तक्षेप गर्ने सरकारको उद्देश्य नरहेको बताउँदै आयोगलाई संविधान र कानुनले दिएको अधिकारअनुसार स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याइन्।




