काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको भनिएको करिब ११ करोड रुपैयाँको आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार ठमेलबाट गुरुङसँगै उनकी सहयोगी लीला लामालाई पक्राउ गरेको हो। उनीहरूमाथि आपराधिक विश्वासघात, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

७ करोडको हिसाब नमिलेपछि खुल्यो अनियमितता

सशस्त्र प्रहरीको मापदण्डविपरीत इन्स्पेक्टर गुरुङ विगत ६ वर्षदेखि एपीएफ स्कुलमा लेखा अधिकृतका रूपमा कार्यरत थिइन्। २०८२ माघ–फागुनमा करिब ७ करोड रुपैयाँको हिसाब नमिलेपछि आन्तरिक छानबिन सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा एपीएफ स्कुलले सशस्त्र प्रहरीको केन्द्रीय कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम गुरुङले आफ्ना प्रेमी लीला लामाको नियन्त्रणमा रहेका खातामा पठाउने गरेको खुलेको छ। ती रकम मिटर ब्याजमा लगानी गरिएको आरोप पनि छ।

प्रहरीका अनुसार कनेक्ट आईपीएसमार्फत कोषमा जानुपर्ने रकम एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडेज प्रालिका खातामा ट्रान्सफर गरिएको पाइएको छ।

डीएसपी महेन्द्र हमालमाथि मुख्य योजनाकारको आरोप

सशस्त्र प्रहरीको आन्तरिक छानबिनले केन्द्रीय कल्याणकारी कोषमा कार्यरत डीएसपी महेन्द्र हमाललाई यो प्रकरणको मुख्य योजनाकारका रूपमा देखाएको स्रोतको दाबी छ।

हमाल विगत ८ वर्षदेखि एउटै जिम्मेवारीमा कार्यरत थिए, जबकि सशस्त्र प्रहरीको मापदण्डअनुसार लेखा शाखामा कुनै पनि कर्मचारी दुई आर्थिक वर्षभन्दा बढी निरन्तर बस्न पाउँदैन।

स्रोतका अनुसार एपीएफ स्कुलबाट कल्याणकारी कोषमा जम्मा हुनुपर्ने करिब ९ करोड रुपैयाँ नजम्मा हुनुमा हमाल र गुरुङबीच मिलेमतो रहेको आशंका गरिएको छ।

समादेशकको पत्र गायब पारेको आरोप

फागुनमै एपीएफ स्कुलका तत्कालीन समादेशकले केन्द्रीय कल्याणकारी कोषलाई स्कुलको रकम जम्मा भए–नभएकोबारे जानकारी माग्दै पत्राचार गरेका थिए। तर उक्त पत्र डीएसपी हमालले नै गायब पारेको आरोप लागेको छ।

एपीएफ अस्पताल भवन बिक्री र सम्पत्तिमाथि पनि अनुसन्धान

२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बलम्बुस्थित एपीएफ अस्पताल भवन ६ करोड रुपैयाँमा बिक्री गरिएको थियो। बिक्रीबाट प्राप्त रकमको उपयोगबारे पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।

यस्तै, हमालले स्वयम्भूस्थित कारखाना चोक नजिक निर्माण गरेको करिब ५ तले निजी घरमाथि पनि अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त घर निर्माणमा करिब १६ करोड रुपैयाँ खर्च भएको देखिएको स्रोतको दाबी छ।

डीआईजीको हस्ताक्षर कीर्ते गरेको आरोप

अनुसन्धानका अनुसार इन्स्पेक्टर गुरुङले कनेक्ट आईपीएसको फाराममा तत्कालीन एपीएफ स्कुल समादेशक तथा हालका डीआईजी दिग्विजय सुवेदीको हस्ताक्षर कीर्ते गरी रकम स्थानान्तरण गरेकी थिइन्।

उनले लीला लामा सञ्चालक रहेका एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडेज प्रालिका खातामा रकम पठाएको खुलेको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिका तथा आर्थिक कारोबारबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय