
काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा भएका अधिकृतहरूले बुधबार औपचारिक रूपमा दर्ज्यानी चिन्ह (फुली) लगाएका छन्। तर, उनीहरूको पदस्थापन भने अझै टुंगो लागेको छैन।
बढुवा प्रक्रियामा एसएसपी पदमा बढुवा भएका उम्मेदवारहरूमध्ये एकविरुद्ध एसपी विमल बस्नेतले उजुरी दिएका थिए। सो उजुरी उजुरी सुन्ने समितिमा पुगेपछि सोही समितिले खारेज गरेपछि बढुवा प्रक्रिया अघि बढेको हो।

यसपटक प्रहरी प्रधान कार्यालयले: ११ जना एसएसपी , ११ जना एसपी र १३ जना डीएसपी लाई बढुवा गरेको छ। बढुवा भएका सबै अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। तर, बढुवासँगै उनीहरूको पदस्थापन अझै तय भएको छैन।
बढुवामा छुटेका ब्याचको सहभागिता, एसपीमा नयाँ ब्याचको पनि प्रवेश
एसएसपी र एसपीमा यसपटक पहिला बढुवाबाट छुटेका ब्याचका अधिकृतहरू अटाएका छन् भने एसपी पदमा नयाँ ब्याचका अधिकृतहरू पनि समावेश भएका छन्।
एसपी पदमा बढुवा हुने अधिकृतहरूमा: अनिल कुमार खड्का ,महेश थापा ,दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल ,रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल ,केशब भट्टराई ,भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन्।
केशब भट्टराईका लागि विशेष बनेको बढुवा, नेतृत्वको एकल प्रतिस्पर्धा
बढुवा भएका एसपीहरूमध्ये केशब भट्टराईका लागि यो बढुवा विशेष र रणनीतिक दृष्टिले महत्त्वपूर्ण बनेको छ। कारण, आफ्नै ब्याचबाट उनी मात्र ‘फ्रेस’ अधिकृत हुन्, बाँकी सबै विभागीय अधिकारीहरू रहेका छन्।
भट्टराईको ब्याचबाट धर्मराज भण्डारीलाई प्रारम्भिक रूपमा सबैभन्दा बलियो प्रतिस्पर्धी मानिएको थियो। स्रोतका अनुसार, उहाँको नाम अन्तिम सूचीबाट हटाएर दिपक खड्काको नाम समावेश गरिएको हो।
यस घटनापछि धर्मराज भण्डारी बढुवाबाट छुटे, जसले गर्दा केशब भट्टराई भावी प्रहरी नेतृत्वको एकल प्रतिस्पर्धीका रूपमा अघि बढेका छन्। भट्टराईका समर्थकहरू यो बढुवालाई **‘रणनीतिक जित’**का रूपमा हेरेका छन्।



