
काठमाडौं – नेपाल प्रहरीले विभिन्न फर्म, कम्पनी तथा व्यक्तिका नाममा धरौटी खातामा रहेको रकम फिर्ता लिन सम्बन्धित पक्षलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गर्दै आर्थिक वर्ष २०६४/०६५ देखि २०७८/०७९ सम्म भएका विभिन्न भुक्तानीबाट ५ प्रतिशतका दरले कट्टा गरी धरौटी खातामा जम्मा गरिएको रकम हालसम्म सम्बन्धित पक्षले फिर्ता नलिएको जनाएको हो।

प्रहरीका अनुसार उक्त रकम कोष तथा लेखा नियन्त्रकको कार्यालय, लैनचौरको धरौटी खातामा सुरक्षित रहेको छ। रकम दाबी गर्नुपर्ने फर्म, कम्पनी तथा व्यक्तिको नामावली नेपाल प्रहरीको वेबसाइट र कोष तथा लेखा नियन्त्रकको कार्यालय, लैनचौरको सूचनापाटीमा सार्वजनिक गरिएको छ।
प्रहरीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित सम्पर्क गरी आफ्नो धरौटी रकम फिर्ता लिन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।
निर्धारित समयभित्र कसैले पनि दाबी नगरेमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६७ को उपनियम (३) बमोजिम उक्त धरौटी रकम राजस्व खातामा दाखिला गरिने नेपाल प्रहरीले जनाएको छ।



