
काठमाडौँ । पर्यटकहरूको उद्धार, सुरक्षा र सङ्कट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई साँचो हस्तान्तरण गरेका हुन्। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थिति रहेको थियो।

सचिव निरौलाले पर्यटक सुरक्षा पर्यटन विकासको आधार भएको उल्लेख गर्दै नयाँ सवारी साधनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए। साथै, अधिकारीहरूले यसले दुर्गम तथा व्यस्त क्षेत्रहरूमा छिटो सेवा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
नयाँ सवारी साधनसँगै पर्यटक प्रहरीको सेवा थप तीव्र र प्रभावकारी हुने अपेक्षा गरिएको छ।



