धनगढी । ड्युटीकै क्रममा अचानक गम्भीर बिरामी परेका नेपाल प्रहरीका जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ। डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत जोशीको आइतबार बिहान कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित अत्तरिया अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

डडेल्धुराको जोगबुडा घर भएका जोशीको दरबन्दी कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयमा रहे पनि उनी हाल प्रहरी चौकी सानागाउँ, डोटीमा कार्यरत थिए।

प्रहरीका अनुसार २०८३ असार २७ गते राति उनी प्रहरी चौकीअगाडि रहेको इन्ट्री पोस्टमा नियमित सुरक्षा ड्युटीमा खटिएका बेला अचानक पेटमा असह्य पीडा भएपछि गम्भीर बिरामी परेका थिए। सहकर्मी प्रहरीले तत्काल उद्धार गरी जिल्ला अस्पताल डोटी पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रेफर गरिएको थियो।

अत्तरिया अस्पतालमा उपचार सुरु गरिए पनि उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी जवान जोशीको मृत्युको यकिन कारण भने तत्काल खुल्न सकेको छैन। पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।

उनको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम सम्पन्न भएपछि शव आफन्तको जिम्मा लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय