नेपालगञ्ज । लागूऔषधविरुद्धको अभियानमा प्रभावकारी कार्यसम्पादन गर्दै प्रहरी सहायक निरीक्षक नविन कुमार शाही २०८३ साल श्रावण महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मानित भएका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले शाहीलाई लागूऔषध नियन्त्रण तथा अनुसन्धानमा हासिल गरेको उल्लेखनीय उपलब्धि, कर्तव्यप्रतिको लगनशीलता र व्यावसायिक कार्यशैलीका आधारमा उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।

शाही हाल लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्ज, बाँकेको कार्यालय प्रमुखका रूपमा कार्यरत छन्। उनले श्रावण महिनामा जिम्मेवारी निर्वाह गर्ने क्रममा ११४ दशमलव ४० ग्राम खैरो हेरोइनसहित पाँच जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए।

प्रमाणपत्रमा उल्लेख भएअनुसार शाहीले जिम्मेवारी निर्वाहका क्रममा व्यावसायिक आचरण, अनुशासन, विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको प्रभावकारी पालना गर्दै परिणाममुखी कार्यसम्पादन गरेका थिए। सोही आधारमा मूल्याङ्कन समितिले उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।

सम्मानस्वरूप शाहीलाई रु. १ हजार ५ सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराले उनलाई प्रमाणपत्र प्रदान गरेका हुन्।

यसअघि इलाका प्रहरी कार्यालय रास्कोट स्युना, कालिकोटमा कार्यरत शाही हाल नेपालगञ्जमा लागूऔषध नियन्त्रणको महत्वपूर्ण जिम्मेवारीमा छन्। संवेदनशील क्षेत्रमा खटिएर लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र अनुसन्धान क्षमताका कारण उनले संगठनभित्र आफ्नो प्रभावकारी कार्यसम्पादन प्रस्तुत गरेका छन्।

लागूऔषधको कारोबार, ओसारपसार र प्रयोग नियन्त्रण अहिले समाजका लागि गम्भीर चुनौती बन्दै गएको छ। विशेषगरी युवापुस्तालाई यसको जोखिमबाट जोगाउन प्रहरीको अनुसन्धान, निगरानी र प्रभावकारी कारबाही महत्वपूर्ण मानिन्छ।

शाहीलाई प्राप्त यो सम्मानले कर्तव्यप्रति इमानदार, अनुशासित र परिणाममुखी ढंगले काम गर्ने प्रहरी कर्मचारीको योगदानलाई संगठनले प्रोत्साहन गर्दै आएको सन्देश दिएको छ। साथै, लागूऔषधविरुद्धको अभियानमा थप प्रभावकारी ढंगले काम गर्न अन्य प्रहरी कर्मचारीलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय