काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पार्सलमार्फत भैरहवा पठाइएको ३.२ किलो थाई गाँजा बरामद गरी लागूऔषध नियन्त्रण ब्युरोले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा पठाइएको पार्सलमा लागूऔषध रहेको सूचनाका आधारमा प्रहरीले मिति २०८३ साउन २४ गते जाँच गर्दा फेन्सी सामानभित्र लुकाइएको अवस्थामा ३.२ किलो थाई गाँजा बरामद गरेको हो।

पार्सल बुझ्न आउने व्यक्तिलाई पक्राउ गर्न ब्युरोले ‘कन्ट्रोल डेलिभरी’ विधि अपनाएको थियो। सोही क्रममा साउन २६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २३ वर्षीय मनोहर हरिजन र भारत उत्तर प्रदेशको बस्ती, परसरामपुरका १८ वर्षीय निखिल वर्मा रहेका छन्।

ब्युरोले उनीहरूको साथबाट ३.२ किलो थाई गाँजा र दुई थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय