
काठमाडौं, ६ भदौ । सुदूरपश्चिम सरोकार मञ्चले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा शनिबार आयोजित कार्यक्रममा मञ्चको दुई दशक लामो यात्राको समीक्षा गर्दै सुदूरपश्चिमको समग्र विकासका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको हो।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुदूरपश्चिमको विकासका लागि काठमाडौंमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरू एक ठाउँमा आएर सक्रिय हुनुपर्ने बताए।
सम्बोधनका क्रममा चन्दले सुदूरपश्चिमप्रतिको आफ्नो माया र भावनाका कारण स्वास्थ्य अवस्था कमजोर हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको बताए। उनले आफ्नो जन्मभूमि र माटोको विकासका लागि सबै मिलेर योगदान गर्न आग्रह गरे।
वार्षिकोत्सवकै अवसरमा मञ्चका अध्यक्ष डा. दीर्घबहादुर बमले ‘रणसमुन्द्र डा. दीर्घसिंह बम पुरस्कार’ घोषणा गरे। सुदूरपश्चिमबाट विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय बमले आफ्नो क्षमता, विज्ञता र स्रोतसाधन सुदूरपश्चिमको विकासका लागि खर्चिने प्रतिबद्धता व्यक्त गरे।
मञ्चका संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) मोतीलाल बोहराले पनि सुदूरपश्चिमको विकासका लागि विभिन्न समूहमा विभाजित सरोकारवाला निकायहरूलाई साझा उद्देश्यका लागि एकजुट हुनुपर्ने बताए। उनले क्षेत्रको विकासका लागि सामूहिक प्रयास र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भूपरिवेष्ठितबाट भूजडित उडान’ पुस्तकसमेत विमोचन गरिएको थियो।
सुदूरपश्चिममा जन्मिएका ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले पर्यटन क्षेत्रको विकास, पूर्वाधार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी र नेटवर्किङलाई केन्द्रमा राखेर पुस्तक तयार पारेका हुन्।
कार्यक्रममा पूर्वऊर्जा सचिव तथा ऊर्जा विज्ञ अनुपराज उपाध्यायले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको वर्तमान अवस्था र ऊर्जा क्षेत्रमार्फत समग्र प्रदेशको विकास गर्न सकिने सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे।
त्यसैगरी कृषि विज्ञ यज्ञराज जोशीले सुदूरपश्चिमको कृषि क्षेत्रको अवस्थाबारे धारणा राख्दै पर्याप्त कृषि सम्भावना हुँदाहुँदै पनि उचित विकास र लगानीको अभावमा प्रदेश पछाडि परेको बताए।
मञ्चको आवश्यकता, स्थापना र दुई दशक लामो यात्राबारे महासचिव सुरेन्द्र जोशीले प्रकाश पारे। उनले मञ्चले सुदूरपश्चिमका साझा मुद्दालाई काठमाडौंमा उठाउँदै आएको र आगामी दिनमा पनि प्रदेशको विकासका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलगायत विभिन्न क्षेत्रका विज्ञ, समाजसेवी, व्यवसायी तथा सुदूरपश्चिमसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति थियो।




