
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारभन्दा प्रतिपक्ष राजनीतिक रूपमा अझ बलियो रहेको दाबी गरेका छन् ।

रास्वपाको नीति, संगठन तथा नेतृत्वसम्बन्धी कार्यशालामा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै लामिछानेले पार्टीलाई स्थानीय तहसम्म थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले सरकारका गतिविधि र कामबारे जनतालाई जानकारी गराउन पार्टीका नेता–कार्यकर्तालाई गाउँबस्तीमै पुग्न निर्देशनसमेत दिए ।
लामिछानेले स्थानीय सरकारमा पार्टीको उपस्थिति बलियो बनाउन नसके राजनीतिक रूपमा पछि पर्ने अवस्था आउन सक्ने बताए । उनले भने, ‘अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष झनै बलियो छ । बलियो प्रतिपक्षले राजनीतिक रूपमा प्रभावकारी ढंगले काम गर्न सकेन भने त्यसले परिस्थितिलाई अर्कै दिशातर्फ लैजान सक्छ ।’
रास्वपाले उठाउँदै आएको सुशासनको मुद्दालाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै उनले पार्टीले अनियमितताका विषयमा निरन्तर प्रश्न उठाउँदै आएको बताए । तर प्रश्न उठाउनु मात्रै पर्याप्त नहुने उनको भनाइ थियो ।
लामिछानेले आफू मधेश जाने तयारीमा रहेको जानकारी दिँदै केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी दिएर देशका गाउँ–गाउँमा परिचालन गरिने बताए । उनका अनुसार पार्टीको संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद र स्थानीय तहमा राजनीतिक उपस्थिति बढाउने योजना अघि सारिएको छ ।




