
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका पोखरीहरू संरक्षण गर्ने अभियानअन्तर्गत अतिक्रमित संरचना हटाउन थालिएको छ । पहिलो चरणमा सातवटा पोखरीका डिलमा निर्माण गरिएका ६५ भन्दा बढी पक्की तथा कच्ची संरचना डोजर लगाएर हटाइएको हो ।
गुठी संस्थान तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित समितिले शनिबारदेखि अतिक्रमण हटाउने अभियान सुरु गरेको जनाएको छ । अभियानअन्तर्गत पोखरीका डिलमा बनाइएका घर, पर्खाल, अस्थायी टहरा तथा अन्य संरचना हटाइएको छ ।

पक्की संरचनाका केही भाग मात्रै भत्काइएको भए पनि बाँस, खर र माटोबाट बनाइएका कच्ची संरचना भने पूर्ण रूपमा हटाइएको छ । एउटा सार्वजनिक शौचालयसमेत भत्काइएको समितिले जनाएको छ । संरचना हटाइएपछि ती क्षेत्रमा भत्किएका सामग्रीहरू यत्रतत्र छरिएका छन् ।
स्थानीयका अनुसार पोखरीको डिल तथा वरिपरि अव्यवस्थित रूपमा संरचना निर्माण हुँदा पोखरीको क्षेत्रफल साँघुरिँदै गएको थियो । कतिपय पोखरीमा पानीको सतहसमेत घट्दै जाँदा तिनको अस्तित्व नै संकटमा परेको उनीहरूको भनाइ छ ।
पेठिया बजारमा तरकारी बिक्री गर्दै आएका स्थानीय रसिर पूर्वेले जनकपुरको पहिचानसँग जोडिएका पोखरी, मठमन्दिर र कुटीहरूको संरक्षण आवश्यक रहेको बताए । अतिक्रमित क्षेत्र खाली गराउने काम सकारात्मक भएको उनको भनाइ छ ।
समितिका प्रवक्ता जनक पोखरेलका अनुसार पहिलो चरणमा गोरधोई, विशहारा, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर र दीर्घिका सरका डिलबाट अतिक्रमित संरचना हटाइएको हो । अन्य पोखरीका डिलको समेत रेखांकन तथा सीमांकन भइरहेको उनले जानकारी दिए ।
पोखरेलका अनुसार अब क्रमशः अन्य अतिक्रमित क्षेत्रसमेत खाली गराउँदै लैजाने तयारी छ । गुठी जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन गर्ने क्रममा अभियान अघि बढाइएको समितिले जनाएको छ ।
समितिलाई बृहत्तर जनकपुर क्षेत्रभित्र रहेका पोखरी, पोखरीका डिल, राम मन्दिर, जानकी मन्दिरलगायत प्रमुख धार्मिक तथा ऐतिहासिक सम्पदा र गुठी जग्गामा भएका अतिक्रमण हटाई संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
यससँगै उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ तथा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ का प्रतिवेदनमा उल्लेखित विषयहरू कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।




