
काठमाडौँ । रुकुम पश्चिममा विद्युतीय सवारीसाधन (ईभी) को ठक्करबाट पैदल हिँडिरहेका आमा–छोरीको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका–८, एकान्तस्थित सडकमा आइतबार बिहान भे.१ ज १४८२ नम्बरको ईभी गाडीले ठक्कर दिँदा दुई पैदलयात्री गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गुल्मीको रूरूक्षेत्र गाउँपालिका–४ बलेटक्चाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञावलीको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनापछि प्रहरीले ईभी गाडीका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




