
विराटनगर, वैशाख ४ गते। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुर, झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरेको छ।
प्रहरी निरीक्षक तामाङले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

उनले “अपरेसन ब्राउन” अन्तर्गत भद्रपुर क्षेत्रमा लागूऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गरेका थिए। सोही क्रममा चैत्र महिनाभर लागूऔषधसम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्त पक्राउ गरिएको र उनीहरूको साथबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर तथा ३ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गर्नुका साथै विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई समेत पक्राउ गरिएको छ।
यसैबीच, Gen-Z आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको वडा प्रहरी कार्यालय भद्रपुरको कार्यालय तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर तथा विद्युतिय सामग्री व्यवस्थापनमा पनि उनले सक्रिय भूमिका खेलेका थिए। साथै, मेची बिटको पुनःस्थापना, प्रहरी चौकी मेचीपारीका लागि नयाँ जग्गा प्राप्ति, तथा नयाँ भवन निर्माणका लागि पहलमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक गतिविधिहरू सञ्चालन गरी स्थानीय बासिन्दामा शान्ति सुरक्षाको अनुभूति दिलाउन उनले खेलेको भूमिकालाई पनि उच्च मूल्यांकन गरिएको छ।
उक्त सम्पूर्ण कार्यसम्पादनका आधारमा प्रहरी निरीक्षक तामाङलाई २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



