
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा, व्यवसाय र श्रमप्रति गर्व गर्न सक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले लोकतन्त्र केवल शब्दमा सीमित नभई व्यवहारमा अनुभूति हुनुपर्ने बताए।

उनले लोकतन्त्र भनेको एउटै शब्द पटक–पटक दोहोर्याउनु मात्र नभई नागरिकले आफ्नो कर्म र पेसामा गौरव महसुस गर्न सक्ने अवस्था सिर्जना हुनु भएको उल्लेख गरे।
आईजीपी कार्कीले पसले, इलेक्ट्रिसियन, भान्से, दर्जी (लुगा सिलाउने), प्रहरी वा मजदुर सबैले आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको समान रूपमा कदर गर्नुपर्ने धारणा राखे। पेसा वा व्यवसायका आधारमा कोही सानो वा ठूलो नहुने उल्लेख गर्दै उनले लोकतन्त्रमा सबै प्रकारका श्रम र कर्मलाई सम्मान गरिनुपर्ने बताए।
समाजमा विद्यमान विभेदकारी प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले व्यक्तिको ओहदा वा हैसियतका आधारमा फरक व्यवहार गर्ने संस्कार स्वीकार्य हुन नसक्ने बताए।
प्रहरी कार्यालयमा सेवा लिन आउने सबै नागरिकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि आधारमा विभेद नगर्न प्रहरी कर्मचारीलाई आग्रह गरे।
कार्यक्रममा आईजीपी कार्कीले नवनिर्मित सेवा केन्द्र र प्रहरी आवास भवनले सेवाग्राहीलाई थप सहज सेवा उपलब्ध गराउनुका साथै प्रहरी कर्मचारीको कार्यसम्पादनमा समेत सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।




