दाङ । दाङ जिल्ला अदालतले गाँजा सेवनको कसूरमा एक महिलालाई २० दिन कैद सजाय सुनाएको छ। अदालतले घोराही उपमहानगरपालिका–८, ढिकपुर निवासी दुर्गा देवी सार्कीलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) बमोजिम दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।

प्रहरीले २०८२ कात्तिक ९ गते नियमित गस्तीका क्रममा सार्कीको घरमा खानतलासी गर्दा भुईँतलामा रहेको भकारीभित्र सेतो बोरामा लुकाइराखिएको अवस्थामा १ किलो ९६५ ग्राम गाँजा बरामद गरेको थियो। घटनास्थलबाट प्रहरीले गाँजासहित उनको मोबाइल फोन पनि नियन्त्रणमा लिई उनलाई पक्राउ गरेको थियो।

अनुसन्धान तथा अदालतमा दिएको बयानका क्रममा सार्कीले आफूलाई विगत चार वर्षदेखि पेट फुल्ने समस्या रहेको र त्यसको घरेलु औषधिका रूपमा गाँजा सेवन गर्दै आएको बताएकी थिइन्। साथै, घरमा पालेका भेडा बिरामी हुँदा खुवाउनका लागि खेतबारीमा आफैं उम्रिएको गाँजा संकलन गरेर राखेको र बिक्री–वितरण गर्ने उद्देश्य नभएको जिकिर गरेकी थिइन्।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले प्रतिवादीले व्यावसायिक रूपमा गाँजा उत्पादन, खरिद–बिक्री वा ओसारपसार गरेको प्रमाण नदेखिए पनि सेवनका लागि गाँजा सञ्चय गरेको ठहर गर्दै २० दिन कैद सजाय सुनाएको हो।

अदालतले सार्की अनुसन्धानका क्रममा २०८२ कात्तिक ९ गतेदेखि २०८२ मंसिर २ गतेसम्म थुनामा बसेको अवधिलाई कैद सजायमा समायोजन गरेको छ। त्यसैले उनले तोकिएको कैद सजाय भुक्तान गरिसकेको ठहर गर्दै रिहा हुने आधार रहेको उल्लेख गरेको छ।

साथै अदालतले उनलाई अपराध पीडित राहत कोषमा २०० रुपैयाँ शुल्क बुझाउन पनि आदेश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय