
महोत्तरी, ८ साउन । जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेलाई २०८३ असार महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गर्दै प्रशंसापत्र प्रदान गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार साह मगरले डीएसपी गोलेलाई प्रशंसापत्र प्रदान गर्दै उनको कार्यसम्पादनको उच्च मूल्यांकन गरेका हुन्।

प्रशंसापत्रमा डीएसपी गोलेले नेपाल प्रहरी संगठनबाट आफूलाई प्राप्त जिम्मेवारी इमान्दारी, अनुशासन र लगनशीलताका साथ सम्पादन गर्दै शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धान तथा लागुऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।
त्यस्तै, सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्दै संगठनभित्र व्यावसायिकता, जिम्मेवारीबोध र उत्कृष्ट कार्यसंस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




