
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले जेन–जी आन्दोलनपछि सरकारको सोच र नागरिकको अपेक्षाअनुसार प्रहरी संगठनले आफ्नो कार्यशैलीमा सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको बताएका छन्।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रहरी सेवालाई सहज, पारदर्शी र झन्झटरहित बनाउने लक्ष्यसहित संगठनभित्रैबाट परिवर्तन आवश्यक रहेको बताए।

उनले भने, “जेन–जी आन्दोलनपछिको समयमा सरकारको स्पिरिट र नागरिकको अपेक्षालाई पूरा गर्ने हिसाबले हामीले केही परिवर्तन र सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेका छौँ। प्रहरीलाई साँच्चिकै प्रहरीजस्तो बनाउँदै आमनागरिकले चाहेको सुशासन प्रदान गर्नु हाम्रो प्राथमिकता हो।”
एसएसपी घिमिरेका अनुसार नागरिकले प्रहरीबाट सेवा लिँदा कुनै पनि प्रकारको झन्झट, भनसुन वा आर्थिक चलखेलको सामना गर्नु नपरोस् भन्ने उद्देश्यका साथ प्रत्येक प्रहरी कर्मचारीको व्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउन जोड दिइएको छ।
उनले प्रहरी संगठनभित्रको सकारात्मक परिवर्तनले सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाएको उल्लेख गर्दै जेन–जी आन्दोलनपछि नागरिकबाट प्रहरीप्रति विश्वास, माया र सद्भाव अझ बढेको बताए।
उनका अनुसार नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर प्रहरी संगठन अघि बढिरहेको छ।




