जुम्ला । जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक प्रकाश बहादुर शाही २०८३ साल बैशाख महिनाका “महिनाकै सर्वोत्कृष्ट ट्राफिक प्रहरी” घोषित भएका छन्।

विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, इमान्दार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित र लगनशील ढंगले उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनपछि उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रहरी नायव निरीक्षक शाहीले सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। बढ्दो सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि उनले स्थानीय सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी राजमार्गअन्तर्गतका सडक खण्डहरूमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न सचेतनामूलक बोर्ड तथा दुर्घटना जोखिमयुक्त क्षेत्र जनाउने ‘ब्ल्याक स्पट’ बोर्डहरू जडान गराएका थिए।

त्यसैगरी सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणाली विकास गर्न प्रभावकारी नेतृत्व प्रदान गर्नुका साथै सवारी दर्ता तथा आवश्यक कागजातहरूको नियमित जाँचमा कडाइ गरिएको बताइएको छ। बिना हेलमेट, सिट बेल्ट, लाइसेन्स तथा सार्वजनिक बिदाको दिन बिना पास सञ्चालन हुने सरकारी सवारी साधनमाथि विशेष जाँच अभियान सञ्चालन गरी आवश्यक कारबाहीसमेत गरिएको थियो।

चालक, सह–चालक, विद्यार्थी, पैदल यात्री तथा सर्वसाधारणलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै जनचेतनामूलक सामग्री निर्माण गरी ट्राफिक सचेतना अभिवृद्धिमा समेत उनले उल्लेखनीय भूमिका खेलेका छन्।

दिइएको जिम्मेवारी त्रुटिरहित र उत्कृष्ट ढंगबाट सम्पन्न गरेको मूल्यांकनका आधारमा “महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनोट मार्गदर्शन–२०८२” बमोजिम उनलाई “महिनाकै सर्वोत्कृष्ट ट्राफिक प्रहरी” घोषणा गरिएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत “महिनाकै उत्कृष्ट कर्मचारी” अवधारणालाई कार्यान्वयन गर्ने उद्देश्यले नेपाल प्रहरीले “महिनाकै सर्वोत्कृष्ट ट्राफिक प्रहरी” कार्यक्रम लागू गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय