काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक कोमल शाहद्वारा हस्ताक्षरित निर्णयअनुसार प्रहरी निरीक्षक यादवले लागूऔषध नियन्त्रण तथा यात्रु उद्धारमा देखाएको सक्रियता, साहस र जिम्मेवारीपूर्ण भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई २०८३ साल बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय कर्मचारी प्रशासन शाखा, विराटनगर दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक यादवले गत २०८३ वैशाख १९ गते धुलिखेल नगरपालिका–११ स्थित क्षेत्रमा विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण अभियान सञ्चालन गरेका थिए ।

उक्त अभियानका क्रममा बलराम तामाङ र रिन्जु तामाङको घरमा खानतलासी गर्दा लागूऔषध गाँजाको बोटसहित करिब १८ केजी २१ ग्राम पोलाइन्ड गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, प्रहरी निरीक्षक यादवले गत वैशाख २३ गते बनेपा नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीका कारण अलपत्र परेका यात्रुहरूको उद्धारमा समेत नेतृत्वदायी भूमिका खेलेका थिए ।

काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको ईभी गाडी र एउटा मोटरसाइकल खोलामा फसेपछि जोखिमपूर्ण अवस्थामा रहेका ७ जना यात्रुलाई सुरक्षित स्थानमा उद्धार गरी मानविय सेवाको उदाहरण प्रस्तुत गरेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी संगठनभित्र जिम्मेवारी, इमान्दारिता, सक्रियता र उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्रहरी निरीक्षक यादवलाई “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय