
मोरङ, वैशाख ५ — मोरङ जिल्लाका इलाका प्रहरी कार्यालयहरू मध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै इलाका प्रहरी कार्यालय लेटाङले २०८२ साल चैत्र महिनाको “सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय” बन्न सफल भएको छ।
उक्त उपलब्धिसँगै लेटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर साहलाई सम्मानित गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटवालले उनलाई प्रशंसा–पत्र प्रदान गरे।

इलाका प्रहरी कार्यालय लेटाङले पछिल्लो समय नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै समुदायसँग सहकार्यमा शान्ति सुरक्षा कायम राख्न उल्लेखनीय भूमिका खेलेको बताइएको छ। कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन, नागरिकका गुनासा तथा समस्याको समाधानमा सक्रियता देखाएको छ।
चैत्र महिनाभरि खुकुरी प्रहार घटनामा संलग्न फरार व्यक्तिहरू पक्राउ गर्नुका साथै विभिन्न मुद्दाका प्रतिवादी नियन्त्रण, अवैध सामान बरामद जस्ता कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान, सेवाग्राहीका लागि चौतारी निर्माण, फिटनेस जोन स्थापना तथा हिरासतमा पुस्तकालय सञ्चालन जस्ता नवीन पहलहरू समेत कार्यान्वयन गरिएको छ।
प्रहरीले यस्ता प्रयासले समुदाय–प्रहरी सम्बन्ध सुदृढ बनाउँदै सेवा प्रवाहमा सकारात्मक सुधार आएको विश्वास व्यक्त गरेको छ।



