
काठमाडौं । सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका सञ्चारकर्मी तथा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाई यस वर्षको ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ प्रदान गरिने भएको छ।
अमेरिकास्थित नेपाली साहित्यिक तथा सामाजिक संस्था रामगीता बाङ्मय मन्दिरले लामो समयदेखि पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै पन्थीलाई उक्त पुरस्कार दिने निर्णय गरेको जनाएको छ।

पुरस्कारअन्तर्गत ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। प्रवासमा रहेर नेपाली पत्रकारितालाई विश्वव्यापी बनाउने तथा अमेरिकामा रहेका नेपाली समुदायका मुद्दाहरू सशक्त रूपमा उठाउने पन्थीको नेतृत्वदायी भूमिकाका आधारमा उनलाई छनोट गरिएको आयोजकले जनाएको छ।
पुरस्कार वितरण आगामी वि.सं. २०८३ वैशाख १२ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा गरिनेछ। सो अवसरमा नगद तथा सम्मानपत्र हस्तान्तरण गरिने रामगीता बाङ्मय मन्दिरकी अध्यक्ष गीता खत्रीले जानकारी दिएकी छन्।
उक्त संस्थाले नेपाली भाषा, साहित्य र सञ्चार क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा सम्मान प्रदान गर्दै आएको छ।
खसोखास डटकमका प्रधान सम्पादक पन्थी विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनले विशेषगरी न्यूयोर्कलाई मुख्य कार्यक्षेत्र बनाउँदै पछिल्लो १५ वर्षदेखि अमेरिकी नेपाली डायस्पोरामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। नेपालमा रहँदा उनले सगरमाथा टेलिभिजन र एबीसी टेलिभिजनमा सम्पादक तथा कार्यक्रम सञ्चालकका रूपमा काम गरेका थिए। साथै उनले हालसम्म तीन वटा पुस्तकसमेत लेखिसकेका छन्।



