
काठमाडौं — लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा कार्यरत वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाका लागि ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। आफ्नो जिम्मेवारीप्रति उच्च प्रतिबद्धता, सक्रियता र जोखिमपूर्ण कार्यसम्पादनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
ब्यूरोका अनुसार घिसिङले फागुन महिनाभरि सञ्चालन गरिएका विभिन्न अपरेसनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विशेषगरी विभिन्न प्रकारका लागूऔषधसहित ७ जनालाई पक्राउ गर्न सफल हुनुका साथै अवैध रूपमा राखिएको पेस्तोल बरामद गर्न उनले नेतृत्वदायी भूमिका खेलेका थिए।

त्यसैगरी, तथाकथित जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदीलाई पुनः पक्राउ गर्न उनले उल्लेखनीय योगदान दिएका थिए। फरार अभियुक्तलाई नियन्त्रणमा लिन गरिएको अपरेसनमा घिसिङको सतर्कता र व्यावसायिक दक्षता प्रशंसनीय रहेको ब्यूरोले जनाएको छ।
ब्यूरोका कार्यालय प्रमुख कृष्ण कोइराला ले घिसिङलाई नगद १ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मानित गरेका हुन्। उनले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई यस्ता पुरस्कारले थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
एसएसपी कोइरालाले लागूऔषध नियन्त्रण, अपराध न्यूनीकरण र शान्ति–सुरक्षा कायम राख्न खटिने प्रहरीहरूको मनोबल उच्च राख्न यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने बताए। साथै, आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीहरूलाई नियमित रूपमा सम्मान गरिने जानकारी दिए।
घिसिङले प्राप्त सम्मानप्रति खुशी व्यक्त गर्दै भविष्यमा अझ इमान्दार, जिम्मेवार र निष्ठापूर्वक सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “यो सम्मानले मलाई अझ राम्रो काम गर्न प्रेरणा दिएको छ।”
लागुऔषध नियन्त्रण ब्यूरोले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको छ। यस्ता उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको पहिचान र सम्मानले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।



