जनकपुरधाम । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले धनुषामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज यादवलाई फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ। उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता र जिम्मेवारीप्रति देखाएको उच्च प्रतिबद्धताको आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रहरी निरीक्षक यादवले फागुन महिनाभित्र विभिन्न संवेदनशील तथा महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक सम्पन्न गरेका थिए। विशेषगरी, मिति २०८२ फागुन १९ गते सम्पन्न मिथिला माध्यमिकी अन्तगृह परिक्रमा मेला र फागुन २० गते मनाइएको होली पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन उनले प्रभावकारी सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेका थिए। ती पर्वहरूका क्रममा ठूलो जनसहभागिता हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उनले सुरक्षा व्यवस्थापनमा विशेष चनाखो भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन यादवको नेतृत्वमा सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालित भएको थियो। निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन उनले समयमै रणनीतिक योजना बनाएर प्रहरी परिचालन गरेका थिए, जसले समग्र निर्वाचन प्रक्रियालाई विश्वसनीय र सुरक्षित बनाउन सहयोग पुर्‍यायो।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, इन्स्पेक्टर यादवको कार्यशैली, निर्णय क्षमता, अनुशासन र नागरिकमैत्री व्यवहारका कारण उनी सहकर्मीहरूबीच मात्र होइन, स्थानीय नागरिकहरूबीच पनि विश्वासिलो प्रहरी अधिकृतका रूपमा परिचित छन्।

‘पुलिस अफ द मन्थ’ घोषणा केवल पुरस्कार मात्र नभई उत्कृष्ट कार्य गर्ने प्रहरीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले प्रदान गरिने सम्मान हो। इन्स्पेक्टर यादवलाई दिइएको यो सम्मानले अन्य प्रहरी कर्मचारीहरूलाई पनि आफ्नो कर्तव्यप्रति अझ जिम्मेवार, सक्रिय र समर्पित बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय