
रुपन्देही । रुपन्देही जिल्लाबाट चमार समुदायका पहिलो प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्न सफल भएका ऋषिकेश गौतम हरिजनले सामाजिक इतिहासमै नयाँ उपलब्धि हासिल गरेका छन्। उनी नेपाल प्रहरी संगठनभित्र समावेशी प्रतिनिधित्वको उदाहरण बन्दै उभिएका छन्।
रुपन्देहीका विश्वेश्वर प्रसाद हरिजनका छोरा ऋषिकेशले २०८१ सालमा प्रहरी निरीक्षक पदमा नाम निकाल्दै करिब डेढ वर्ष लामो आधारभूत तालिम सफलतापूर्वक पूरा गरी हालै ‘पासआउट’ भएका हुन्।

चमार कल्याण समाज नेपाल, केन्द्रीय समितिले ऋषिकेशलाई चमार समुदायबाट रुपन्देहीजिल्लामै पहिलो इन्स्पेक्टर भएको दाबी गरेको छ।
सामान्य पारिवारिक पृष्ठभूमिबाट कडा प्रतिस्पर्धा पार गर्दै प्रहरी निरीक्षक बन्न सफल ऋषिकेशको यात्रा प्रेरणादायी बनेको छ। उनको सफलताले चमार समुदायका युवाहरूलाई मात्र होइन, सम्पूर्ण समाजका सीमान्तकृत वर्गका लागि पनि आशा र आत्मविश्वास थपेको छ।
समावेशी पहुँच, परिश्रम र दृढ इच्छाशक्तिको उदाहरण बनेका इन्स्पेक्टर हरिजनको यो उपलब्धिलाई सामाजिक न्याय र समान अवसरतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। विभिन्न सामाजिक संघसंस्था तथा शुभेच्छुकहरूले उनको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।



