
काठमाडौं । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याई आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको कदरस्वरूप जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलाई २०८२ पौष महिनाको “Police of the Month” घोषित गर्दै प्रशंसा–पत्र प्रदान गरिएको छ।
प्रहरी संगठनको मूल्य–मान्यता, अनुशासन र कर्तव्यनिष्ठालाई आत्मसात् गर्दै उत्कृष्ट अनुसन्धान क्षमता, सक्रियता तथा जिम्मेवारीपूर्ण सेवामार्फत उनले नागरिकको भरोसा जित्न सफल भएका छन्। उनको यस योगदानले प्रहरी संगठनप्रति जनविश्वास थप सुदृढ भएको विश्वास गरिएको छ।

उक्त प्रशंसा–पत्र २०८२ माघ ०६ गते एक कार्यक्रमका बीच प्रदान जिल्ला परिसर काठमाण्डौंका प्रमुख एसएसपी रमेश थापाद्दारा प्रदान गरिएको हो।
प्रहरी निरिक्षक कृष्ण श्रेष्ठ प्रहरी संगठनभित्र एक काबिल, अनुशासित तथा कर्मठ प्रहरी अधिकृतका रूपमा परिचित छन्। आफ्नो सेवाकालमा उनले इमान्दारिता, व्यावसायिक दक्षता र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्दै आएका छन्। शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा देखाएको उल्लेखनीय कार्यसम्पादनकै कारण यसअघि पनि उनले विभिन्न कार्यालय तथा निकायबाट पटक–पटक नगद पुरस्कार र प्रशंसा पत्र प्राप्त गरिसकेका छन्। उनका यी उपलब्धिहरूले मात्र होइन, सहकर्मी र सेवाग्राहीमाझ कमाएको विश्वासले पनि उनलाई एक सक्षम र भरोसायोग्य प्रहरी अधिकृतका रूपमा स्थापित गरेको छ।



