महोत्तरी । चार दशक लामो प्रतिक्षापछि इलाका प्रहरी कार्यालय बर्दिवासले आफ्नै नाममा जग्गाको भोगाधिकार प्राप्त गरेको छ। २०४२ सालमा तत्कालीन प्रहरी महानिरीक्षक स्व. दिलबहादुर लामाबाट उद्घाटन भएको उक्त कार्यालयले ४० वर्षपछि जग्गा सुनिश्चित गरेसँगै स्थायी पूर्वाधार निर्माणको बाटो खुलेको हो।

लामो समयसम्म आफ्नै जग्गा नहुँदा कार्यालयको प्रशासनिक कामकाज सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो। वन क्षेत्र भएको दाबीका कारण संरचना निर्माणमा रोक लगाइँदै आएको अवस्थामा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले औपचारिक रूपमा भू–उपयोग प्रमाणपत्र प्रदान गरेपछि समस्या समाधानतर्फ उन्मुख भएको छ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक विकास बमले आफ्नो कार्यकालमा जग्गा भोगाधिकार प्रक्रियालाई प्राथमिकतामा राखेर पहल गरेको बताए। “विभिन्न कारणले अल्झिएको प्रक्रिया सर्वपक्षीय सहयोगमा आज टुंगिएको छ,” उनले भने, “अब कार्यालय सञ्चालनमा देखिएको असहजता हट्ने विश्वास लिएको छु।”

मालपोत कार्यालय बर्दिवासका प्रमुख रमेशप्रसाद गौतमका अनुसार इलाका प्रहरी कार्यालय बर्दिवासले १ बिघा ६ कठ्ठा ७ धुर क्षेत्रफलको जग्गा भोगाधिकार पाएको हो। प्रमाणपत्र प्रदान गर्दा मालपोत कार्यालयले ६ बुँदे सर्त पनि तोकेको छ।

सर्तहरूमा जग्गा अतिक्रमण हुन नदिनु, नाफामूलक वा व्यावसायिक प्रयोजनका लागि भाडामा नदिनु, तोकिएको उद्देश्य विपरीत प्रयोग भएमा नेपाल सरकारले फिर्ता लिन सक्ने व्यवस्था समावेश गरिएको छ। साथै, सरकारी आवश्यकता परे आंशिक वा पूर्ण रूपमा जग्गा फिर्ता गर्नुपर्ने तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वमा असर नपर्ने गरी उपयोग गर्नुपर्ने सर्त राखिएको छ।

यी सर्तहरू स्वीकार गर्दै कार्यालय प्रमुख बमले भू–उपयोग प्रमाणपत्र ग्रहण गरेका छन्। भोगाधिकार सुनिश्चित भएसँगै भवन निर्माण र प्रशासनिक गतिविधि अब सहज रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय