काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका क्षेत्रमा आज दिउँसो पुनः वर्षा हुने सम्भावना रहेकाले खोज तथा उद्धार अभियानमा चुनौती थपिन सक्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रभावित क्षेत्रमा हाल बदलीको अवस्था रहेकाले दिउँसो रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षा हुनसक्ने सम्भावना छ। केही स्थानमा भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ।

विभागका मौसमविद् डेविट ढकालका अनुसार दिउँसो ४ बजेपछि भने मौसम केही सुधार हुने र खोज तथा उद्धारका लागि तुलनात्मक रूपमा अनुकूल अवस्था बन्न सक्ने सम्भावना छ।

यसैगरी कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका धेरै हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसबीच विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी आसपास बाढीको जोखिम अझै कायम रहेको भन्दै थप वर्षाका कारण उद्धार तथा राहत कार्यमा कठिनाइ आउन सक्ने बताएका छन्। माथिल्लो क्षेत्रमा रहेका हिमताल फुट्ने सम्भावनासमेत रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा तथा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय