
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्र बनाएको छ। बाढीबाट ठूलो क्षति भएपछि जोखिममा परेका नागरिकको उद्धार तथा राहतका लागि राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकायका टोलीहरू परिचालन भएका छन्। सेनाको टोलीले प्रभावित बस्तीमा पुगेर आवश्यक खाद्य सामग्री, टेन्ट, औषधिलगायतका राहत सामग्री वितरण गरिरहेको छ। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच पनि स्थलमार्गबाट उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको जनाइएको छ।

आज बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी नदी आसपासका तटीय क्षेत्रमा खोजी तथा उद्धार अभियान थप सशक्त बनाइएको छ। बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि हेलिकोप्टरसँगै पैदल टोलीसमेत परिचालन गरिएको छ।
यसैबीच, सरकारले भोटेकोशी तथा अन्य नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी तथा पहिरोको जोखिम अझै रहन सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न र सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई आवश्यकताअनुसार थप प्रभावकारी बनाइने सरकारले जनाएको छ। साथै, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको बताइएको छ।




