काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। केही मुख्य सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केहीमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका जोड्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीस्थित काठमाडौं–धादिङ सडकखण्डमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। त्यस्तै, मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा मर्मत कार्य भइरहेकाले सवारीको चापअनुसार आलोपालो गरी यातायात व्यवस्थापन गरिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको ज्वाङखोला तथा गजुरी गाउँपालिका–२ चालिसे क्षेत्रमा भने एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको छ।

रसुवाको उत्तरगयालगायत मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक अवरुद्ध भएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।

यता, कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरोका कारण प्रमुख सडकमार्गहरू प्रभावित भएका छन्। मुगुको मुगु–गमगढी सडक, कालिकोटको कर्णाली राजमार्गअन्तर्गत गग्ने खोला, सल्यानको राप्ती राजमार्गअन्तर्गत चोरखोला र सुर्खेतको बराहताल क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत रोल्पाको सहिद राजमार्गको भालखोर क्षेत्रमा पनि पहिरोका कारण यातायात सेवा ठप्प भएको छ।

त्यस्तै, काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै १० टनभन्दा बढी भार भएका मालवाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। अन्य सवारी साधनलाई भने सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय