
काठमाडौँ । थाइल्यान्डबाट हुलाकमार्फत इटहरी पठाइएको गाँजा बरामद भएपछि प्रहरीले कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालय हुँदै इटहरी पठाउन लागिएको पार्सलमा शङ्का लागेपछि भदौ ९ गते प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा पार्सलभित्र ९१० ग्राम थाइल्यान्डको गाँजा फेला परेको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार बरामद गाँजालाई ‘कन्ट्रोल डेलिभरी’मार्फत इटहरी पठाइएको थियो। पार्सल बुझ्न आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ मिलनपथमा बस्ने १९ वर्षीया जेसिका तामाङ र धनकुटाको छथर जोरपाटी घर भई सोही स्थानमा बस्ने २५ वर्षीया तारा मगर रहेका छन्। उनीहरू बसेको डेराबाट प्रहरीले थप १ किलो थाइल्यान्डको गाँजा समेत बरामद गरेको जनाएको छ।
यसैबीच, गाँजा लिन भारतबाट आएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। शुक्रबार लागुऔषध नियन्त्रण ब्युरोको विराटनगर शाखा र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको केरलाका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आर रहेका छन्।
पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





