
धनगढी । लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा आधा दर्जनभन्दा बढी घर तथा गोठमा क्षति पुर्याएको छ।
घरमाथिबाट खसेको पहिरोका कारण स्थानीय मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घर प्रभावित भएका छन्। तीमध्ये केही घरमा पहिरोले ठूलो क्षति पुर्याएको बताइएको छ।

पहिरोमा परेर मोती उखेडाका दुई गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
पहिरो घरभित्रै पसेपछि भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू जोखिममा परेका छन्।
प्रहरीका अनुसार अविरल वर्षाका कारण जिल्लाका अन्य स्थानमा समेत बाढी, पहिरो तथा डुबानबाट क्षति भएको प्रारम्भिक जानकारी आएको छ। विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।




