
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन त्रिभुवन विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गर्ने निर्णय गरेको छ।
भदौ १२ गते बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

निमित्त रजिष्ट्रार प्रा. डा. महानन्द चालिसेद्वारा जारी सूचनाअनुसार विश्वविद्यालयअन्तर्गत विभिन्न निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको २०८३ भदौ महिनाको पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरिनेछ।
कुलपतिबाट नियुक्त उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पदाधिकारीको एक महिनाको पारिश्रमिक कट्टा हुनेछ। त्यस्तै, प्राध्यापक, प्रशासक, सहप्राध्यापक तथा सहप्रशासक वा सो सरहका कर्मचारीको सुरु मासिक तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ।
उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका कर्मचारीको सुरु मासिक तलब स्केलको ७ दिन बराबरको रकम कट्टा हुनेछ। मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीको ५ दिन बराबर र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको रकम कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।
आर्थिक प्रशासन महाशाखामार्फत भदौ महिनाको तलब भुक्तानी गर्दा उक्त रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
प्राकृतिक विपद्को यस कठिन समयमा पीडित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालय परिवारको तर्फबाट उक्त निर्णय गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ।




