
नुवाकोट । भदौ १० गते आएको भीषण बाढीले नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयको पछिल्लो विवरणअनुसार बाढीमा परी ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०५ जना अझै बेपत्ता छन्।
प्रशासनका अनुसार मृत्यु भएका सबै ५१ जनाको शव फेला परिसकेको छ। यद्यपि उनीहरूको पहिचान खुल्न बाँकी छ। बेपत्ताको विवरण भने आफन्तबाट प्राप्त सूचनाका आधारमा संकलन गरिएको हो। बाढीमा परी ४० जना घाइते भएका छन्।

बाढीबाट विदुर, बेलकोटगढी, तारकेश्वर र किस्पाङका विभिन्न क्षेत्र प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, १० र १२ तथा बेलकोटगढीका वडा नं. ५, ७, ८ र ९ मा बढी क्षति पुगेको प्रशासनले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार ७०० देखि ८०० निजी घर क्षतिग्रस्त भएका छन्। कृषि विकास बैंकसहित ८ सरकारी कार्यालय, ३ जलविद्युत आयोजना र ४ विद्यालय भवनमा समेत क्षति पुगेको छ।
यातायाततर्फ १५ पक्की र ९ झोलुङ्गे पुलमा क्षति पुगेपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। केन्द्रीय कारागार नुवाकोटको पर्खाल र खम्बासमेत बाढीले बगाएको छ। कैदीबन्दी भने सुरक्षित रहेको प्रशासनले जनाएको छ।
उद्धार कार्यलाई तीव्रता दिँदै हालसम्म हेलिकप्टरबाट १,८२३ जना र स्थलगत रूपमा ८५ जनाको उद्धार गरिएको छ। बाढीबाट विस्थापित ७९१ जनालाई विभिन्न आश्रयस्थलमा राखिएको प्रशासनले जनाएको छ।




