
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न मुख्य सडकखण्डमा रहेका पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सडक विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीका कारण विभिन्न जिल्लामा गरी ३२ वटा पुल पूर्ण रूपमा बगेका छन्।
विभागका अनुसार थप ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने ६ वटा पुल उच्च जोखिमका बाबजुद सुरक्षित रहेका छन्। बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा रसुवा, नुवाकोट र धादिङ रहेका छन्।

रसुवामा १३ पुलमा क्षति
रसुवामा बाढीले १३ वटा पुल पूर्ण रूपमा बगाएको सडक विभागको विवरणमा उल्लेख छ। क्षतिग्रस्त संरचनामा रसुवागढीको मितेरी पुल, टिमुरेका दुई पुल, चिलिमेस्थित भोटेकोशी पुल तथा चिलिमे खोला पुल रहेका छन्।
त्यस्तै, भोटेकोशी र स्याफ्रुबेँसी क्षेत्रका विभिन्न बेलिब्रिज, स्याफ्रुबेँसी पुल तथा त्रिशूली–मैलुङ क्षेत्रका पाँचवटा पुलसमेत बाढीले बगाएको जनाइएको छ।
नुवाकोटमा १४ पुल बगे
नुवाकोटमा बाढीको प्रभाव झनै ठूलो देखिएको छ। जिल्लामा १४ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन्।
बेत्रावतीका पुराना तथा नयाँ पुल, तुप्चेस्थित त्रिशूली नदी पुल, त्रिशूली बजारका दुई पुल, सिमचौर पुल तथा देवीघाट आसपासका विभिन्न पुल बाढीले बगाएको छ।
यसैगरी, ताँदी खोलाका दुई पुल तथा त्रिशूली नदीअन्तर्गत श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार क्षेत्रका पुलहरूमा समेत ठूलो क्षति पुगेको छ।
धादिङमा ५ पुल पूर्ण रूपमा ध्वस्त
धादिङमा ५ वटा पुल पूर्ण रूपमा बगेका छन् भने थप ३ वटा पुलमा क्षति पुगेको छ।
स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुको फुर्के खोला पुल तथा कोल्पु खोलाका दुई पुल बाढीले ध्वस्त बनाएको छ। मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा भने क्षति पुगेको विभागले जनाएको छ।
केही प्रमुख पुल भने सुरक्षित
बाढीको तीव्र प्रभावका बाबजुद धादिङ–चितवन खण्डका केही महत्वपूर्ण पुल भने सुरक्षित रहेका छन्। गल्छी नजिकको भिमढुङ्गा–लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुलहरू बाढीबाट जोगिएका छन्।
पुलहरूमा भएको क्षतिले प्रभावित क्षेत्रमा यातायात तथा आवतजावतमा थप चुनौती सिर्जना गरेको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा वैकल्पिक यातायात व्यवस्थापन तत्काल अघि बढाउनुपर्ने अवस्था देखिएको छ।




